येशू क्रिस्टको विभिन्न स्वरूपहरू ; परमेश्वरको उपस्थिति

June 21, 2026

पहिलो प्रचारक: पास्टर रुपक (“येशू क्रिस्ट को हुनुहुन्छ र उहाँका विभिन्न स्वरूपहरू”)

मुख्य पद: मत्ती १६:१४-१९ (येशू क्रिस्टको साँचो पहिचान र भूमिका)

  • मुख्य प्रश्न र उत्तर: मत्ती १६:१५-१६ को आधारमा उहाँले भन्नुभयो, “येशु प्रभुले त्यहाँ प्रश्न गर्नुहुन्छ, ‘तिमीहरु चाहिँ के भन्छौ म को हु?’… सिमन पत्रुसले जवाफ दिएर भने, ‘तपाई जीवित परमेश्वरको पुत्र क्रिस्ट हुनुहुन्छ’।”

  • येशूका विभिन्न पहिचान र सम्बन्धित भनाइहरू:

    • अनन्त जीवन दिने प्रभु र मुक्तिदाता: योहन्ना ३:१६ र यहुदा १:२५ लाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “परम प्रभु परमेश्वरको पुत्र येशु क्रिस्ट चाहिँ तपाई र हामीलाई अनन्त जीवन दिने परमेश्वर हुनुहुन्छ। उहाँ एक मात्र बुद्धिमान परमेश्वर हुनुहुन्छ र सम्पूर्ण पापी मानिसको एक मात्र महान परमेश्वर जसले तपाई र हामीलाई मुक्ति दिनुहुन्छ।”

    • छुटकारा र मिलाप कर्ता: प्रकाश १:५, कलस्सी १:१३-१४ र रोमी ५:१० का बारेमा उहाँले भन्नुभयो, “येशु क्रिस्ट चाहिँ तपाई र हामीलाई हाम्रो पापबाट छुटकारा गर्ने छुटकारा कर्ता हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो मिलाप कर्ता हुनुहुन्छ… तपाई र हामी पापी मानिस पवित्र परमेश्वर सँग चाहिँ मिलाप गराउने कार्य गर्नु भएको छ।”

    • प्रायश्चित, अन्तरबिन्ती कर्ता र अधिवक्ता: १ योहन्ना ४:१०, हिब्रू ७:२५ र १ योहन्ना २:१ लाई स्पष्ट पार्दै उहाँले भन्नुभयो, “उहाँ चाहिँ हाम्रो प्रायश्चित कर्ता हुनुहुन्छ… उहाँले चाहिँ परमेश्वर पिताको त्यो क्रोधलाई शान्त पार्नु भएको छ। तपाई र मेरो प्रभु येशु क्रिस्ट चाहिँ हाम्रो अन्तरबिन्ती कर्ता हुनुहुन्छ… उहाँले चाहिँ आफ्नो पितालाई भन्ने काम गर्नुहुन्छ। येशु क्रिस्ट चाहिँ हाम्रो अधिवक्ता हुनुहुन्छ, हाम्रो वकिल हुनुहुन्छ… हाम्रो प्रतिरक्षा गर्ने अथवा हाम्रो पक्षमा बोल्नु हुने।”

    • मण्डलीको शिर र असल गोठालो: कलस्सी १:१८ र योहन्ना १०:११ बारे बोल्दै उहाँले भन्नुभयो, “तपाई र मेरो प्रभु येशु क्रिस्ट चाहिँ हामी मण्डलीको शिर हुनुहुन्छ… यदि कसैले तपाई र हामीलाई कष्ट दिन्छ भने येशु प्रभु हाम्रो शिर हुनुहुन्छ, उहाँले महसुस गर्नुहुन्छ। उहाँ असल गोठालो हुनुहुन्छ, उहाँले चाहिँ तपाई र मेरो वास्ता गर्नुहुन्छ, उहाँले तपाई र मेरो फिक्री गर्नुहुन्छ।”

    • महान ज्योति र राजाहरूका राजा: यसैया ९:२, प्रकाश १९ र व्यवस्था १०:१७ लाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “तपाई र मेरो प्रभु येशु क्रिस्ट चाहिँ महान ज्योति हुनुहुन्छ। तपाई र मैले विश्वास गरेको प्रभु येशु क्रिस्ट चाहिँ उहाँ प्रभुहरुका प्रभु… राजाहरुको राजा हुनुहुन्छ।”

      दोस्रो प्रचारक: पास्टर सुरेन्द्र (“परमेश्वरको उपस्थिति र भावनाको अभिव्यक्ति”)

      मुख्य पद: १ समुएल ४:१-७ (परमेश्वरको उपस्थिति)

      • मुख्य पद र इजराइलीहरूको उत्साह: १ समुएल ४:५ लाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “जब परम प्रभुको बाचाको सन्दुक छाउनी भित्र आयो… तब सम्पूर्ण इजरायल ठुलो स्वरले चिच्यायो यसैले पृथ्वी नै आवाजले घन्कियो। जब उनीहरुले परमेश्वरको उपस्थितिलाई अनुभूति गरे… उनीहरुले त्यो भावनालाई भित्र दबाएर राख्न चाहेन, उनीहरु चिचियाए, कराउदै भने—परम प्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ अब हामी जित्ने छौ।”

      • दबिएका भावनाहरू र डिप्रेसन: मनोवैज्ञानिक पक्षलाई जोड्दै उहाँले भन्नुभयो, “यदि हाम्रा भावनाहरूलाई, संवेदनाहरूलाई… भित्र मन भित्र भित्र यदि हामीले गुम्साएर राख्यौ र तिनलाई प्रकट हुन दिएनौ भने… एक समयमा लगेर त्यसले चाहिँ मानिसलाई डिप्रेस बनाउदो रहेछ।”

      • डरबाट छुटकारा र विश्वासको घोषणा: विश्वासीहरूलाई चुनौती दिँदै र आफ्नो विश्वास प्रकट गर्दै उहाँले भन्नुभयो, “जब परमेश्वरले गरेको कार्यलाई हामी महसुस गर्दैनौ भने हामी डराइराख्छौ… तर जब बाचाको सन्दुक त्यो छाउनी भित्र आउछ त्यसपछि अब डराउने पालो कसको? पलिस्तीहरुको! हालेलुया! क्रुसमा गएर हाम्रा पाप र अधार्मिकताको निम्ति उहाँ मर्नु… त्यो कार्यले मेरो जीवन नै काया पलट भएको छ अब मैले किन डराउने? जब हामी हाम्रो विश्वासलाई प्रकट गरिरहन्छौ… हामी भित्र त्यो गुम्सिराखेको जुन आनन्द छ नि त्यो प्रस्फुटित हुन्छ।”