येशूको पहिचान र उहाँमा हाम्रो नयाँ जीवन

१. पास्टर रूपक

विषय: सावलको परिवर्तन र प्रभुसँगको व्यक्तिगत सम्बन्ध

  • प्रभुलाई व्यक्तिगत रूपमा चिन्नु: “दमस्कसको बाटोमा येशू प्रभुसँग सावलको भेट हुन्छ। भेट हुने क्रममा सावलले प्रश्न गर्दछ— ‘तपाईं को हुनुहुन्छ प्रभु?’ आज हामी प्रत्येक व्यक्तिले परमेश्वरलाई खोज्न जरुरी छ। प्रभु येशू क्रिस्टले भन्नुभयो— ‘म तिम्रो मुक्तिदाता हुँ।’ सावलले सोचेको थियो कि प्रभु येशू क्रिस्ट त मरिसक्नु भयो, तर अचानक उहाँसँग भेट हुँदा उसले उहाँको वास्तविक परिचय पायो”।
  • मिसन र समर्पण: “सावलले दोस्रो प्रश्न गर्दछ— ‘हे प्रभु, अब म के गरूँ? तपाईं के चाहनुहुन्छ?’ वास्तवमा हामी सम्पूर्ण मण्डलीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने, हामीलाई परमेश्वरले एउटा मिसनरीको रूपमा राख्नुभएको छ। हामी जुन दिन येशू प्रभुलाई विश्वास गर्छौं, जुन दिन हामी क्रिस्चियन बन्छौं, त्यही दिनदेखि नै हामी मिसनरी भएका हौं“।
  • मण्डलीको शिर क्रिस्ट: “तपाईं र मेरो प्रभु येशू क्रिस्ट हाम्रो शिर हुनुहुन्छ र हामी चाँहि उहाँको अंगहरू हौं । यदि कसैले हामीलाई कष्ट दिन्छ वा सताउँछ भने, हाम्रो शिर हुनुभएको प्रभुले त्यो महसुस गर्नुहुन्छ। सावलले मण्डलीलाई सताउँदा प्रभुले उसलाई दमस्कसको बाटोमा भेटेर उसको होस खोलिदिनुभयो”।

२. पास्टर राजन

विषय: येशूको पहिचान र उहाँमा हाम्रो नयाँ जीवन

  • येशूको वास्तविक पहिचान: “येशू क्रिस्ट स्वयम् आफैले चेलाहरूलाई सोध्नुभयो— ‘मानिसहरूले के भन्छन् म को हुँ? र तिमीहरू चाँहि के भन्छौ म को हुँ?’ पत्रुसले जवाफ दियो— ‘तपाईं जीवित परमेश्वरका पुत्र क्रिस्ट हुनुहुन्छ।’ ‘मसीह’ वा ‘मसाया’ को अर्थ हो— उद्धार गर्ने वाला, जसलाई परमेश्वरले मानिसको पाप क्षमा गर्नको लागि अलग गर्नुभयो। यो सत्यतालाई हरेक क्रिस्चियनले बुझ्नु आवश्यक छ”।
  • येशू आउनुको उद्देश्य: “येशू क्रिस्ट यस संसारमा आउनुको एउटै मात्र उद्देश्य संसारको पाप उठाई लैजानु हो। मानिस पापी छ र पापको कारणले परमेश्वरदेखि अलग भएको छ। बप्तिस्मा दिने यूहन्नाले पनि भन्नुभयो— ‘हेर परमेश्वरको थुमालाई, जसले संसारको पाप उठाई लैजानुहुन्छ।’ मानिसको पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएको हो”।
  • क्रिस्टमा हाम्रो विजय र सिकाइ: “मैले परमप्रभुबाट एउटै कुरा मागेको छु— परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न मेरो जीवनभरि नै उहाँको भवनमा रहन पाऊँ। येशूले भन्नुहुन्छ— ‘मेरो जुवा आफूमाथि राख र मबाट सिक।’ जब हामी उहाँबाट सिक्छौं, तब हामी जान्दछौं कि हामी क्रिस्टमा को हौं। मेरो लागि जिउनु क्रिस्ट हो र मर्नु लाभ हो”।